‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापामगरविरुद्ध आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्याको अभियोगमा दायर मुद्दामा उनका जेठा छोरा जेनिस थापासँग लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको बयानले घटनाको नयाँ पाटो सार्वजनिक गरेको छ। अदालतमा पेश गरिएको अभियोगपत्रमा समेटिएको बयानमा उनले परिवारभित्रको तनाव, दाम्पत्य विवाद, धम्की र आफूले भोगेको व्यवहारबारे विस्तृत खुलासा गरेकी छन्। उनका अनुसार करिब दुई वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत जेनिससँग चिनजान भएको थियो। त्यसपछि उनीहरूबीच प्रेम सम्बन्ध विकास भयो। विदेश जाने प्रक्रिया मिलाउन काठमाडौं आएका बेला ईश्वरी भुजेलको सहमतिमा उनी जेनिससँग लिभ–इनमा बस्न थालेकी थिइन्।