‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’ माथि छलफल 04.07.2026

कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक २०८३’ को मस्यौदामाथि सरोकारवालासँग छलफल गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित छलफलमा ऊर्जा विकासमन्त्री विजया बुढाले मानव जीवनका लागि अपरिहार्य खानेपानी र सरसफाइको कानुनी दस्ताबेज निर्माण गरी नागरिकको मौलिक हक, वन तथा वातावरण संरक्षण र स्रोत व्यवस्थापनमा जोड दिइने बताइन्। मन्त्रालयका निमित्त सचिव बिनोद भण्डारीले संविधान प्रदत्त मौलिक हकको प्रत्याभूति गराउने र प्रदेशको आवश्यकता परिपूर्ति गर्ने ऐन निर्माण गरिने बताए। कार्यक्रममा खानेपानी तथा सरसफाइ विज्ञ कमल अधिकारीले सङ्घीय ऐन, नियमावली, मापदण्ड, विधि र प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गरे। सहभागीहरूले शौचालय, हात धुने स्थान, फोहोर व्यवस्थापन, वातावरणीय संरक्षण, सुरक्षित खानेपानी, उपभोक्ता समितिको संस्थागत विकास र पालिका तहमा संयन्त्र निर्माण जस्ता विषय ऐनमा समेट्नुपर्ने सुझाव दिए।













