सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै बिहीबार पाँच सय रुपैयाँ जरिवाना गरिएको छ। मुख्यमन्त्री शाहको निवासको कम्पाउण्डभित्र बिनाहेलमेट बुलेट बाइक चलाएको भिडियो भाइरल भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उनलाई उक्त जरिवाना गरेको हो। मुख्यमन्त्रीका स्वकीय सचिवले नै उक्त भिडियो टिकटकमार्फत सार्वजनिक गरेका थिए। जरिवाना तिरेपछि मुख्यमन्त्री शाहले ट्राफिक प्रहरीलाई धन्यवाद दिँदै सबै नागरिकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरे। उनले कानुन सबैका लागि समान भएको र कसैले पनि यसको गलत व्याख्या गर्नु नहुने बताए।