९ बजे नै आउँछन् कर्मचारी, ५ बजेसम्म बस्दैनन् 09.04.2026

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा सरकारी कार्यालयका करिब एक हजार कर्मचारीले कार्यालय समयको पालना नगरेको पाइएको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको निर्देशनमा गत सोमबारदेखि काठमाडौं उपत्यकाका विभिन्न सरकारी कार्यालय, अस्पताल र मालपोत जस्ता निकायमा अनुगमन गर्दा कर्मचारीहरू बिहान ९ बजे हाजिर गरेर दिनभर अनुपस्थित रहने र साँझ ५ बजे पुनः हाजिर गर्ने गरेको भेटिएको हो। यस अनुगमनमा शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, स्वास्थ्य सेवा विभाग, सिंहदरबारभित्रका मन्त्रालय र नापी तथा मालपोत कार्यालयहरू समावेश थिए। बुधबारदेखि उपत्यकाबाहिरका कार्यालयमा पनि अनुगमन सुरु गरिएको छ, जहाँ अधिकांश कार्यालयमा विद्युतीय हाजिरी नभएको पाइएको छ। सतर्कता केन्द्रले अनुगमनको प्रतिवेदन दैनिक रूपमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सचिवालयलाई बुझाइरहेको छ।



















