नेपाललाई चाहिने मल र इन्धन निरन्तर दिने भारतको प्रतिबद्धता 07.05.2026

भारत सरकारले नेपाललाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ र रासायनिक मल निरन्तर रूपमा आपूर्ति गर्ने प्रतिबद्धता दोहोर्याएको छ। बिहीबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक रहेको र व्यापारिक तथा रणनीतिक सहकार्य सुदृढ रहेको बताए। उनले नेपाल–भारतबीचको आयात–निर्यात प्रक्रिया नियमित रहेको र इन्धन आपूर्ति सम्झौता अनुसार नै भइरहेको स्पष्ट पारे। उनले आगामी दिनमा पनि यो प्रक्रिया निरन्तर चल्ने तथा नेपाललाई आवश्यक रासायनिक मल उपलब्ध गराउने भारतको सकारात्मक धारणा रहेको पनि उल्लेख गरे। नेपालले पछिल्लो समय भारतसँग रासायनिक मल खरिदका लागि सरकार–सरकार (जीटुजी) सम्झौता गर्दै आएको छ भने पेट्रोलियम पदार्थ आपूर्तिका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच दशकौँदेखि व्यावसायिक सहकार्य कायम छ।
















