स्वास्थ्य प्रतिष्ठान र अस्पतालमा निमित्त प्रमुख तोकियो 07.05.2026

सरकारले पूर्णकालीन नेतृत्व चयन नहुँदासम्म अत्यावश्यक सेवा प्रवाह सुचारु राख्ने उद्देश्यले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा निमित्त प्रमुखको जिम्मेवारी तोकेको छ। स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्र विक्रम गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. विनम्र विष्ट, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. इन्द्र लिम्बू, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. सुरेश रसाइली, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डा. उमेश नेपाल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह–प्रा.डा. रविन्द्रभक्त तिमिला र स्वास्थ्य बिमा बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्त प्रमुख तोकिएको छ। हालै जारी अध्यादेशका कारण नेतृत्वविहीन बनेका निकायहरूमा सेवा अवरुद्ध हुन नदिन यो कदम चालिएको हो र छिट्टै खुला प्रतिस्पर्धाबाट स्थायी नेतृत्व चयन गरिनेछ।




















