पूर्वराष्ट्रपतिद्वयको सुझाव: तल्लोतहका जनताको हित अनुकूल हुने गरी संविधान संशोधनका अक्षर लेख्नुहोस् 04.06.2026

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग भेटी महत्वपूर्ण सुझाव संकलन गरेको छ। कार्यदलले पूर्वराष्ट्रपतिद्वयको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा छलफल गरेको हो। डा. यादवले फराकिलो राष्ट्रिय सहमति, संविधानका मुख्य स्तम्भहरूको अक्षुण्णता, नयाँ पुस्ताका माग र सामाजिक विविधतालाई सम्मान गर्दै तल्लोतहका जनताको हित अनुकूल हुने गरी संशोधन गर्न सुझाव दिए। उनले लोकतान्त्रिक अभ्यासमा अन्तिम नागरिकको उत्थानमा जोड दिए। पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको प्रक्रिया सकारात्मक रहेको उल्लेख गर्दै बृहत् राष्ट्रिय सहमतिमा जोड दिइन्। उनले महिला सहभागितालाई व्यावहारिक बनाउन प्रत्यक्ष निर्वाचन प्रणालीमै महिला संख्या निर्धारण गर्न, राजदूत नियुक्तिमा सरकार परिवर्तनले असर नगर्ने व्यवस्था गर्न र केही आयोगहरूको पुनर्मूल्याङ्कन गर्न सुझाव दिइन्।
















